म नेपाली

Sunday, July 29, 2018

बढुवा

विधा : लघुकथा

लेखक © : एनबी इलुंगा


हरि र भानु एउटै अफिसमा काम गर्छन् । सँगै खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका । एउटै पद बरिष्ठ सहायकमा रहेर सँगै काम गरेको ७ बर्ष भइसकेको थियो । दुवै जनाले ६/६ ग्रेड पाइसकेका थिए । राम्रै तलब थियो । दुवै खुसी थिए । मिलनसार थिए । एकअर्कासँग एकदमै मिल्थे । सँगै अफिस आउने, काम गर्ने, खाजा खाना जाने, सरसल्लाह गर्ने र अफिसबाट निस्कने गर्थे । जेठको महिनामा कार्यालयले बढुवाका लागि आवेदन माग ग¥यो, सहायक अधिकृतमा । दुवैजनाले भिडे । परीक्षा भयो । दुवैले राम्रो गरे । राम्रै अपेक्षा थियो दुवैको ।
       असारको पहिलो साता नतिजा आयो । हरि सहायक अधिकृत भयो । भानु बरिष्ठ सहायक नै रह्यो । हरिको मुहारमा अधिकृत हुँदाको खुसी छल्किरहेको थियो । भानु निन्याउरो अनुहार लाएर बसेको थियो । हरिले सम्झायो भानुलाई । भानु अर्कोचोटी राम्रो तयारी गरेर प्रतिस्पर्धा गर्ने मनासय बनाएर हरिको खुसीको पार्टीमा सामेल भयो । साउन लाग्यो । हरि हाकिम भयो । भानु उसको सहायक । हिजोसम्म बराबरीमा काम गरेको साथी हाकिम भएपछि भानुलाई भित्रभित्रै खै के–के भइराखेको थियो । काम गर्न पनि मन लागिराखेको थिएन । हरिले काम अह्राउँदा पनि आफु हेपिँदैछु भन्ने भाव आउन थाल्यो । सरुवा भए बरु ढुक्क हुन्थ्यो । यस्तै सोच्दा सोच्दै साउन बित्यो ।
         मसान्तको दिन सबैको खातामा तलब चढ्यो । सबैले आ–आफ्नो विवरण चेक गरे । हरि आफ्नो तलब हेरेर सन्तुष्ट थियो । तर जब उसले भानुको तलब हेर्यो । छाँगाबाट खसेजस्तो भयो । उसको भन्दा उसको सहायक कर्मचारीको तलब पाँच हजार बढी आएको थियो । उसलाई पटक्कै चित्त बुझेन । अस्ति बढुवा हुँदा खस्केको भानुको मुहारमा मुस्कान थियो । बदलाको भावमा मुस्कुराइरहेको थिायो भानु । बढुवा भएर हाकिम भएको हरिको मुहार निलो भएर आयो । हरिले मानव संसाधन विभाग, लेखा विभाग सबैतिर फोन गर्यो । उत्तर एउटै आयो नियम त्यस्तै छ । तपाईलाई मात्र हैन । सबैलाई त्यस्तै हो । बढुवा भएपछि ग्रेड शुन्य गर्नुपर्छ । धन्यवाद ।।
पूर्वाञ्चल दैनिक बिर्तामोडमा प्रकाशित मिति २०७५ साउन १२ गते शनिबार

Saturday, November 04, 2017

म जाबो र मेरा तरुनीहरु

     बैंसमा स्याल नी घोर्ले हुन्छ रे । म सोच्थें मलाई त कहिले पनि घोर्ले बैंस आउँदैन । विचरो म जोड २ पढिसक्दा सम्म पनि कुनै केटीसँग सीधा शिर गर्न सकिनँ । कसैसँग आँखा जुधिहाले पनि तुरुन्तै आँखा बग्थे । बोल्दा पनि घोसेमुन्टो लाएर बोल्थेँ । अरुहरु कसो गर्थे कुन्नी, तर म दुनियाँलाई आफु जस्तै भएको हेर्न चाहन्थेँ । त्यो देखि बाहेक त मलाई केहि थाहा नै नहुने । म त आफुलाई बच्चो ठान्थेँ । नाकमुनि रौं पलाउनु अघि नै म ५ फिट २ इन्चको थिएँ । बैंसको रापले सेकिन म मात्र बाँकी रहेछु सथीहरु माभमा । यद्यपि तरुनीहरु मेरा सपनीमा आउँथे मलाई जिस्काउन । खै कुन चाहिँ एउटी मलाई राम्री लाग्थ्यो । कता-कता मन हुँडलिन खोजे जस्तो भान हुन्थ्यो । मनको वेगलाई छेकेर कसले पो थन्काउन सक्छ र ? मेरो शुद्ध र पवित्र मनलाई दुषित पारिदिए ती तरुनीले कुत्कुत्याएर । अचाक्ली मच्चाउन मन लाग्थ्यो । कतिचोटी सम्हालिनु ? तिनैले सिकाएका थिए मलाई अङ्ग-प्रत्यङ्गमा नजर लगाउन ।
ठाँटिएर हिँडेका तरुनीलाई जिब्रो पड्‌काइदिनु फुरुङ्गै पर्छन्‌ भन्थ्यो मेरो एउटा साथी । उसका गफ र व्यवहारहरु हेर्दा केटीले चप्पल चलाउँछन्‌ भन्ने भनाई भुटो लाग्थ्यो । उसले ककिहल्यै चप्पल उपहार पाएन । उसको वायु मलाई सर्ला कि भनेर डर लागिरहन्थ्यो । तर, त्यो पनि कला रहेछ । म जस्तो जाबोले उसको अनुशरण गर्न सुहाउँदै-नसुहाउने । आफ्नै सिद्धान्त र मान्यता खोज्ने म ती तरुनीका लागि किन उसको शरण पर्ने ? के म तिनको भोको थिएँ र ? म मा प्यास थिएन । मेरो अधर चाम्रो थियो, हात खस्रा थिए अनि काँध कमजोर थियो । त्यसैले होला मेरो काख रित्तो थियो । कुन चाँहि सुन्दरी हुन्थी होली मेरा काँधमा आफ्नो सर्वस्व सुम्पने ? शायद तिनीहरु मबाट तर्किएर हिँड्‌थे, म जस्तै ।
परिचयका आडमा कोहि-कोहि तरुनीहरु मेरा फेला पर्थे । ती बुझ्थेनन्‌ मेरो भाषा । मलाई थाहै थिएन, तिनलाई कुन कुरा भन्ने, के बाल्ने । म अचम्मको जन्तु थिएँ । उनीहरु मलाई गिज्याउँथे, जिस्क्याउँथे, मेरो गिल्ला गर्थे अनि म किच्च हास्थेँ । बाटोमा हिँड्‌दा मेरो नजरबाट छुटेका प्रत्येक तरुनीलाई मैले नियालेको हुन्थेँ । तिनका पूरै शरीरको रसास्वादन गर्थे मेरा आँखाले । म तृप्त हुनै सक्थिनँ । तृप्त हुनु पनि कसरी ? तिनका पहिरन र बिछट्टै रसिला अदाको मात लाग्थ्यो । तर, मलाई लोभ्याउने सबैलाई एकसाथ कल्पनामा डाक्थेँ । अनि मन मौजी गर्थें । मसँग ती सबै खुसी र तृप्त हुनै पर्थ्यो । त्यस भारलाई राम्ररी सम्महाल्थेँ । ती सबै व्यवहारले ६ खोला पारी रहेकी मेरी एउटी मोरीको तिर्सना बढाउँथे ।
कल्पनाको दुनियाँमा होस्‌ वा वास्तविक दुनियाँमा मेरा नजर कुनै तरुनीका मन वा मष्तिस्कमा परेनन्‌, कसैका पाखुरा वा थुतुनामा पनि परेनन्‌ । कपालको लम्बाई र चमक हेर्न मजा हुन्थ्यो । अधरको रस नाप्न मन लाग्थ्यो । चोलीको आकार मिलाइदिन पाए हुन्थ्यो भैं लाग्थ्यो । एकै भलकमा तिनका उचाई र अङ्ग-अङ्गका मोटाई नाप्थेँ । सोली आकारका सुरीला साँप्रबाट नजर हटाउनै मन लाग्थेन । सोलीको वत्र सतहको क्षेत्रफल पढाउँदै गर्दा त्यही उदाहरण दिने इच्छा जाग्थ्यो ।

तरुनीहरु पनि अजिवका लाग्थे । एकपटक भलिबल खेल्दै गर्दा अचानक भलिबल अफ्ट्‌यारा ठाउँ मा पऱ्यो । खेल हेर्दै गरेका तरुनी विद्यार्थीहरु मलाई जिस्काउन लागे । एकबार भर्खर चम्पट ठोकेकी आफ्नी संगिनीलाई एउटीले मोबाइलबाटै सोधी, सुहागरात मनाइस्‌ ? मोबाइल बोल्यो, काँ नी धेरै पाहुना थिए । त्यो केटीले मलाई देखिछ । तुरुन्तै लाउडस्पिकर बन्द गरी । कति बिघ्न लाज पचाएका होलान्‌ । तर, पठ्ठाहरु तिनकै व्यवहारको सहयोगले रात काट्‌छन्‌ । एउटी तरुनीलाई मस्तिष्कमा कोचेर खाटमा पल्टियो, रात आँफै बित्छ । तरुनीहरु पनि काँ कम्‌ छन्‌ र ? एउटा गधेपच्चिसी भेटेपछि अरु सबैलाई बिर्सिन्छन्‌ । आमाले लाम्टो चुसाएको देखि बाबुको जेबले व्यालेन्स रिचार्ज गरेको सब बिर्सन्छन्‌ । मेरो संगतमा अरु पनि तरुनीहरु आए । एउटा ठिटाले आफुलाई प्रपोज गरेको, म्वाई खाएको र एक्लै उसैको कोठामा बोलाएर खै के-के गरेको पनि सुनउँथी एउटी । त्यो सबै सुनाएर ऊ डराउँथी अनि मसँग समाधान माग्थी । भपार्न मन लाग्थ्यो, त्यो सबै गर्नुअघि मसँग सोध्न आएकी थिइस्‌ र ?
       म मोरो नै धेरै सोभो रहेछु । अन्यथा ती तरुनीहरु किन बेला बितेपछि मकहाँ आउँथे । आँफैसँग दुस्ख पोख्नु पर्दैछ । मेरो काँध किन यति कमजोर भएको ? आँटै आउँदैन । लामा जुँगा देख्दा ठिटीहरु डराउँछन्‌ । तर, 
गालामा टाँस्दासम्म सास्ती नहुने रहेछ । त्यसका लागि म साह्रै ढिलाई गर्दोरैछु । यो मामलामा हतार गरेपनि लतरपत्तर नहुनुपर्ने । दुविधा झेल्दै आएकालाई सुविधा दिँदा त थेत्रे ट्याक्सी पनी स्वर्ग भइहाल्छ नी । मनमा विद्युत बहाउन बाँसकै खाँबा गाडेपनि ढलिहाल्ने रहेनछ । यद्यपि म कंगाल भएछु । आफ्नै इच्छा मारेर पनि के जिउनु ?

यो माया पनि बडो अफ्टेरो हुँदो रैछ । लाग्नुपर्ने बेलामा लाग्दैन, कुबेलामा लाग्छ । तर, बैंसालु मनको मायाले खुबै पिरोल्छ । लुतोले झैं झ्याप्पै समाउँछ । बेस्सरी सताउँछ । अनि जति जति कन्यायो उति–उति आनन्द आउँछ । बैंसको उपचारका क्रममा हात, गोडा वा मेदण्ड भाँचिएकाहरु पनि धेरै भेटिन्छन् । शायद मेरा तरुनीहरु मेरा अंग भाँचिउको हेर्न चाहँदैनन् । त्यसैले त मेरो बैंसको उपचार गर्ने डाक्टरलाई मैले हरक्षण पर्खनु परेको छ । कुनै दिन मेरी ६ खोला पारिकी तरुनी आउली, मेरो कुरकुरे बैंसको उपचार गर्न ।

एनबी इलुङ्गा, बिर्तामोड, झापा
पूर्वाञ्चल दैनिक बिर्तामोडमा प्रकाशित मिति २०६६
सर्वाधिकार लेखकमा सुरक्षित

Wednesday, October 11, 2017

लघुकथाः साइँली

छाप्रे घरको ढोकाबाट ढुनमुनिँदै साइँली बाहिर निस्किई । रछ्यानमा वाकीदिई । दुर्गन्ध फैलियो । साइँलो पछिपछि निस्कियो । आँखाभरि आँसु पार्दै साइँली साइँलालाई झपार्दै थिई, "मेरो फुटेको कर्म । तेरो सत्यानास होस् । कत्रा–कत्रा सपना देखाएर फकाएर ल्याइस् । एतिका लागि ल्याको रैछस् ।"
एस्तै एस्तै गाली गर्दै घर तल्तिरको खेतमा साइँली लडी । साइँलो आफ्नै टाउको समातेर आँगनको डिलमा बस्यो ।
गाउँभरिका मान्छे त्यतैतिर दगुरे । ठुल्ठुलो स्वरमा 'साइँलीले बिष खाई अरे' भन्ने हल्ला गुञ्जियो ।
लरबरिएको स्वरमा भिडको बिचमा साइँली कराइराखी, "सुनैसुनले पुरिदिन्छु, रानी बनाएर राख्छु भन्थिस्, ......."
२ छोरीकी आमा भएर पनि रुपले धपक्कै बलेकी साइँली । साइँलो उसको रुपलाई सुहाउने त पटक्कै थिएन ।
साइँली धेरैबेर टिक्दिन भन्ने पत्तो पाएर गाउँलेले एम्बुलेन्स बोलाएनन् । १५ मिनेटमा साइँली सेलाई । हिजो साइँलो हलो जोतेर १२ बजे भोकले रन्थनिँदै घर आएथ्यो । भात पाकेको थिएन । साइँली के–के फत्फताउँदै थिई । बेस्कन भकुरेछ ।
कर्मसँग हारेकी साइँलीको महत्वकांक्षाको पहाड साइँलाले चढ्न सकेन । आत्महत्यापछि समाजले साइँलीप्रति औपचारिक श्रद्धाञ्जली बाहेक कुनै सद्भाव देखाएन ।

(सत्य घटनामा आधारित)
बिर्तामोड झापा

Sunday, May 29, 2016

कविको दाजु

विधा : कथा

लेखक © : एनबी इलुंगा


(यो कथा पूर्णतः मनोरञ्जन प्रयोजनका लागि लेखिएको हो । कुनै पेशाकर्मीप्रति आक्षेपको तवरले नबुझिदिनुहुन अनुरोध छ ।)


आज हजुरबाको जन्मदिन । वहाँलाइ पार्क घुमाउन लानु प¥यो । पेट्रोल अभावले पनि फाइदै भयो । व्हिल चेयरमा घुमाउँदै लाने विचार गरेँ । व्हिल चेयरलाई पछ्याउँदै बाहिर निस्केँ ।
“ऊ हेर्, कविको हजुरबाऊ ।” एउटा फुच्चेले हामीतिर औंलो तेस्र्यायो ।
“लाटो बुढो”, अर्काले थप्यो । मलाई चित्त बुझेन, तैपनि चुपै लागेँ ।
“त्यो मान्छेलाई चिन्छेस् ? ”
“किन नचिन्नु? त्यो मुला, कविको दाजु । जैलेई कविको हजुरबाऊलाई ठेल्दै हिँड्छ, ब्यान, बेल्का । ”
“हैन, त्यो नोकर होला । ” अर्को जान्ने टोपलियो ।
चुप लागेर हिँड्नै सकिनँ, “तिमेरु ठेट्नाहरुको काम छैन ? पढ्नु लेख्नु पर्दैन ? जे पायो तेई भन्दै हिन्छओ ? वहाँ त मेरो हजुरबा पो त । ”
“हैन त । त्यो त डाक्टर हरे । बेलाइतबाट पडेर आको । ”
“हुन्छ ? डाक्टर भए त हजुरबाऊको अप्रेशन गरिहाल्थ्यो होला नी । डाक्टरले जैलेई हजुरबाऊ ठेली हिँड्छ? ”
हजुरबालाई एस्तो बेला मुस्कुराउन मात्र आउँछ । मेरो पारो तात्यो । केटाकेटीसँग निऊ खोज्नु भएन । जिन्दगीभरि गिज्याउँछन् । तरुनी भएका भए जगल्टा तानेर सजाय स्वरुप एक म्वाई लिन्थेँ । मनको लड्डु बटार्दै सरासर बाटो लागेँ । पिएचडी गरेको सबै मान्छे हस्पिटलका डाक्टर हुँदैनन् भन्ने यी केटाकेटीलाई के था? अंग्रेजी साहित्यमा पिएचडी गरेँ तर आजसम्म एउटा कविता लेखेको छैन । भाई थियो उरन्ठेउलो । आठ कक्षामा फेल हुँदाहुँदै स्कुल जानै छोडेको । म बेलायतबाट फर्केर आउँदासम्म कवि भैसकेछ । जल्ले भेटेपनि नमस्ते गरिहाल्छन् । सँगैमा भाको म डाक्टर । मलाई त कसैले बालै दिदैन ।
बा को मुन्टो बटारियो । सिधा पारिदिन खोजेँ । भएन, फेरी बटारियो । के तालको टाउको बाबैको । एसो हेरेको त जिन्स पाइन्ट लाका तरुनी रैछन् । यो बुढेसकालमा नी के तरुनी हेर्नुपर्याहोला बुढालाई ? तर बाको जन्मदिन न प¥यो । हेरुन्, बाबैले धित मरुञ्जेल । तेतैतिर फर्काइदिएँ ।
“नकचरो बुढो । ” एउटी तरुनी कड्किई ।
“दाजु भाईकै बेओरा उस्तै रैछ । ”
“लौ, ए बहिनी म कसरी मेरो हजुरबाको भाई भएँ हौ ? कल्ले ढाँट्यो तिम्लाई ? ”
एउटीले जिब्रो टोकी । अर्की जान्ने भई फेरी, “अए त्यो त कविको दाजु पो त । ”
“ए तेसो भए जेठाजु बनाउनु पर्ला । ” खित् खित् खित् खित् गर्दै लागे तरुनीहरु बाटो ।
बाबै मख्ख परेर मुस्कुराए । भर्खर बिहे गर्ने उमेरको नातीलाई भाई बनाइदिँदा आफु पनि तन्नेरी नै रैछु भन्ने लागो होला बुढालाई । बाटैमा नातीको उमेरमाथि बलात्कार हुँदा पनि कसरी मुस्कुराउन सकेका बुढा । तर त्यस्तो नभनुन् पनि किन । खर्लक्कै खुइलिएको टल्किने तालु अनि जिङरिङ्ग कालो दारी जुँगा । जल्ले देखेपनि पचास कटेकै भन्ठान्लान् । तर इनको के दोष ? भाई छ जुल्फी पालेको, सिलिक्क दाह्री जुँगा । तेस्माथि कवि । गजल पनि लेख्दोहो, श्रृङ्गार भरेर । मैले पनि सुनेको छु तेस्का कविता । प्रत्येक कवितामा तरुनी र तन्नेरीका ओठ र छाती जोडिएका वाक्यहरु बुनेको छ । लाजै मर्नु कविता । लाजपचेका श्रोता, पाठक अनि नकचरो कवि । अभैm कविता लेखेर देश बनाउँछु भन्छ ।
के मलाई इष्र्या लागेको हो मेरो कवि भाईको व्यक्तित्व र कर्म देखेर ? म जस्तो विद्वानले तेस्तो त सोच्नु हुन्न । आफ्नो पेशा र क्षेत्रमा मेरा पनि त अनुयायीहरु छन् नी । मलाई आदर्श मान्नेहरुको पनि त कमी छैन । म दिनैपिछे यस्ता कयौं बच्चा र तरुनीहरुलाई शिक्षा र उपदेश दिन्छु । कुनै दिन तिनले बुझ्लान् ती उपदेश र शिक्षाको अर्थ अनि सम्झेलान् मलाई । तर मेरो कवि भाईको कविता सुनेर कसले सम्झेला र मलाई ? सबैले कविको दाजु भन्छन् । उसलाई प्रोफेसरको भाई भनेर कल्ले भन्दो हो ? 
हजुरबालाई ठेल्दै पार्क पु¥याएँ । बाबै मख्ख परिहाले । त्याँ पो रै’छ रमिता । जोडी जोडी गुँड बनाएर बसेका । अब एकछिनमा अण्डा पार्लान् जस्तो । खुस्किसकेको जवानी फेरी पलायो क्यारे बुढामा । बडा जुर्मुराउन थाले । व्हिल चेयरबाट आँफै ओर्लौंला झैं गर्न थाले बाबै । समातेर च्यापेँ । एक राउण्ड त घुमाइदिनै प¥यो । दहिने घुमाएँ । छेऊ छेऊ पुग्दा नजिकका जोडीहरु मुन्टो लुकाउँथे । तेस्तो लभ के लभ । गर्नै परेसी ओपन फ्र्याङ्कली लभ गर्नुपर्छ । लुकी लुकी लेपास्सिँदा लाज नलाग्ने । मान्छे देखेसी लाज लाग्ने । बडा अजिव छ । देख्नेलाई पो लाज लाग्नु पर्ने । हजुरबाको गजव मनोरञ्जन भइरा’को थियो । एक फन्को पुग्न लाग्दा के देखे बुढाले ? हुँह हुँह गर्न थाले । अगाडि हेरेको त कवि रै’छ । सप्रेको गधेपच्चिसी कुन्चाईं तरुनीका ओठ चुस्न व्यस्त भा’कै बेला रेड हेण्ड फेला प¥यो । गएर पछाडिबाट च्याप्प काँधमा समातेँ । उचालेर एक झापु मात्र हान्न पाएँ । टाप ठोकिहालो । यो तेस्को लभसभ केहि हैन । धेरैबाट सुनिसकेको थेँ यस्ता कुरा । आज लाइभ भेटियो । अब चैं बाबैलाई टेन्सन भएछ क्यारे । नाति कवि भयो भनेर मख्ख परेको । म पनि लठपुङ्को दाजु भनिनु भन्दा त कविको दाजु भनिँदा मख्खै थिएँ नि । बाबैलाई लिएर घरतिर लागेँ ।

घरमा मान्छेको चहलपहल थियो । हजुरआमा धपेडी गर्नुहुँदै रहेछ । मैले कुरा बुझिनँ । हजुरआमासँग सुटुक्क बुझेको त कविलाई छोरी दिन आ’का रे मान्छे । सनक्कै सनक चढेर आयो । यत्रो डाक्टर भैखाको मान्छेलाई छोडेर तेल्लाई छोरी दिन आ’को को पटमुर्ख होला ? सिटिङ् रुममा छिरेँ ।
“नमस्कार हजुर ! ”
“लौ सर, मलाई के को नमस्कार, हजुर लाई पो मैले नमस्कार गर्नुपर्ने । ”
“कुटुम्ब नाता जोड्न आइयो । छोरीका परिवार त सानै हुनु प¥यो नि । ”
लौ बर्बाद ! मसँगै पढाउने प्रोफेसर आफ्नी छोरी कविलाई दिन आएछन् । यिनको के बुद्धि हो ?
सोधिहालेँ, “कवि ज्वाईँ किन रोज्नु भा’ हजुर? ”
“म नेपाली साहित्यमै डिग्री गरेको मान्छे । साहित्यिक मानिसहरुको संगत मन पर्छ । छोरीलाई पनि साहित्य र साहित्यकार खुब मन पर्छ । त्यसैले कवि ज्वाईं बनाउँ लागेकोे नि । ”
आफ्नो बिहे भा’को छैन । परिवेत्ता बनाउनु हुन्न भन्ने लाग्यो ।
“लौ हजुर ! आज बुबा आमा हुनुहुन्न । हामी त वहाँहरुको इच्छा अनुसारको बुहारी विवाह गर्ने हो, पछि सम्पर्क गरुम्ला । ”
“ए हजुरको पनि बिहे भा’को छैन ? ”
म मुस्कुराएँ मात्र । त्यति जवाफ काफी थियो । उनीहरुले चिया पिइसकेछन् बाटो लागे । खै ! के भन्ने हो? कल्लाई भन्ने हो? तर एउटा कुरा चैं पक्का हो । अब म पनि कविता त के हुन्छ कथा चैं लेख्छु । जे पर्ला । मेरो यो तीतो अनुभवलाई कथा बनाउन सकिएला कि नसकिएला ?

Sunday, August 30, 2015

कालो छायाँ

विधा : कथा


लेखक © : एनबी इलुंगा


सधैँ झैं रातको ११ः३० बजे म अफिसबाट निस्किएर घरतर्फ लागेँ । बाटामा आउँदै गर्दा थाहा पाएँ, मेरो ड्राइभरले पिएको रहेछ । गाडी रोक्न लगाएर झपारेँ अनि आँफै ड्राइभ सुरु गरेँ । दिनभरको दौडधुपले गलेर लखतरान भएको शरीर फेरि गाडी कुदाउनु पर्दा कठीन लाग्दै थियो । म अली बढी नै सुविधाभोगी भएछु । ससानो काम गर्न पनि अल्छी लाग्छ । बाटामा एउटी महिला पत्रकारको फोन आयो । उनको स्वर सँधैभन्दा फरक लाग्यो । एउटी युवतीलाई ट्रकले कुचलेर भागेको खवर उनी भन्दैनिइन् । उक्त युवतीले आत्महत्या गर्ने मनशायले कुदिरहेको ट्रकमुनि फाल हालेको पनि उनले सुनाइन् । आजको इडिटिङ सकियो, भोलि बिहान फ्याक्स गर्नु भनेर मैले सम्पर्क काटिदिएँ । फेरि गाडी अगाडि बढाएँ । ३० कि.मि. यात्रा के टुङ्गिएको थियो, आधा बाटोमा म अचम्मको दुर्घटनामा परेँ । मेरो गाडीमुनि अघि मोबायलले भनेजस्तै एउटी युवतीले फाल हाली । मैले आत्तिएर गाडी रोकेँ । हत्तार हत्तार तल हेरेँ । गाडीमुनि कोहि थिएन । वरिपरि हेरेँ कसैलाई देखिनँ । ड्राइभर त गाडीभित्रै मस्त निदाएछ । एकछिन पछि थाहा पाएँ । म एउटा खोलाको पुलमाथि रहेछु । मेरो ड्राइभर सँधै भन्थ्यो । यो खोलाको पुलमा मृत आत्माले तर्साउँछ रे । ऊ पनि सँधै सतर्क हुन्थ्यो । त्यहाँ कुनै घटना भएजस्तो लाग्दा पनि ऊ वास्ता नगरी गाडी चलाउँथ्यो । शायद भुतले तर्साएछ क्यारे । मलाई डर लाग्यो । हत्तपत्त भित्र पसेँ । गाडी स्टार्ट गरेर तुफान भगाएँ । घर आइपुग्दासम्म मेरो शरीर थर्रर काँपिरहेको थियो ।
ड्राइभरले ब्युँझने चेष्टा गरेन । उसलाई गाडीभित्रै थुनिदिएँ । आफ्नो घरपनि आज अनौठो लाग्यो । ढोकाबाट छिर्दै जाँदा कोहि अत्यन्त आत्मिय अतिथि आएझैं भान हुँदै थियो । तर त्यस्तो हुँदा उनले पहिल्यै मलाई खबर गर्थिन् । शायद उनी किचन मै थिइन् । मेरो लागि खाना तयार गर्दै । म सरासर बेडरुमतिर लागेँ । सँधैभन्दा अधिक थकान महशुस गर्दै थिएँ म । तुरुन्तै आँखा चिम्लिन मन लाग्यो । आँखा चिम्लिसकेपछि थाहा पाएँ । मैले कपडा र जुत्ता समेत खोलेनछु । बत्तीको उज्यालो छेकिएजस्तो लाग्यो । उनी आइछन् क्यार । उनले मेरा जुत्ता उतारिदिइन् । तर मेरो शरीरको कपडा उनले कत्तिखेर खालेर थन्क्याउन भ्याइन् मैले थाहा पाइनँ । म अफिसबाट फर्केर सरासर बेडरुममा पस्नुको कारण उनी एउटै बुझ्छिन् । प्रायः पिएर आएको दिन म त्यसो गर्छु । आजपनि उनले त्यही सोचिन् । तर मैले केहि भनिनँ । उनलाई मेरो स्वास्थ्यको खुब चिन्ता छ । नशामा हुँदा मौसमको ख्याल हुँदैन । मेरो शरीरलाई न्यानो परिराख्न आवश्यक सम्पूर्ण कार्यहरु उनले प्रायः फत्ते गरिन् । यति धेरै माया गर्ने पत्नी पाउनु मेरो अहोभाग्य हो । तर विवाहको २ बर्ष बितिसक्दा पनि उनलाई मैले सम्पूर्ण खुसी दिन सकेको छैन । उनले गरेको यति बिघ्न सेवाको प्रतिफल मैले आधारभुत आवश्यकताभन्दा बढी केहि कुरा गरिदिन सकेको छैन । उनका व्यक्तिगत इच्छाहरुलाई मैले खासै महत्व दिएको छैन । कहिलेकाहीँ त हिनताबोध हुन्छ । श्रीमान् श्रीमतीको एकार्काप्रतिको व्यवहार समतुल्य हुनुपर्ने हो । उनी सबै कर्तव्य पूरा गर्छिन् । म त्यो सबै भोगिरहन्छु । उनी अझै कोठामा फर्किनन् । अघि नै गएकी सायद केहि थान्को मुन्को बाँकी होला । मलाई पनि आज निद्रा आउन लागेन केवल आँखा चिम्लिएर पल्टिनु परेको छ ।
उनी कोठाभित्र पसेको मैले थाहा पाएँ । उनले ढोका बन्द गरिन् । ड्राइभर गाडीमै थुनिएको कुरा उनलाई थाहै छैन क्यारे । बाहिरका सबै बत्तीहरु बन्द भइसकेका छन् । उनी मेरो छेउमा आइन् । म निदाएको उनले बुझिन् । बेड सुट पहिरिएर बत्ती निभाइन् । अनि मेरो छेउमा पल्टिइन् । उनी कोल्टे परेर सुतेको मैले थाहा पाएँ । उनले आफ्नो बायाँ हात मेरो छातीमाथि राखिन् । उनको शीर मेरो बायाँ काँधमाथि थियो । उनले श्वास फाल्दा न्यानो हावा मेरो छातीमा पथ्र्यो । सुकोमल हातको न्यानो स्पर्श र परेली केशको संशर्गले पनि आज मलाई उत्तेजित गरेनन् । उनको शरीरको अग्र भागले मेरो शरीरलाई तलदेखि माथिसम्म छोएको थियो । म यति थकित थिएँ कि मलाई चल्मलाउन सम्म पनि मन थिएन । तर यस्तो मेरो जीवनमा पहिलो पटक भएको थियो । आश्चर्यचकित मनको खोल मस्त खाटमा पल्टिरहेकै बखत् मेरी प्यारी पुर्व प्रेमिका मेरो स्मृतिमा आइन् । उनले मसँग कुनैपनि हालतमा विवाह नगर्ने निर्णय मलाई सुनाएकै दिन मैले अरुनै कुनै तरुनीसँग विवाह गर्ने निश्चित गरिसकेको थिएँ । त्यो आज सार्थक पनि भयो । तर उनको इन्कार स्वभाविक थिएन । मसँग विवाह गर्न नचाहनुको कारण उनले मलाई किन भनिनन् ? मलाई पहिलो प्रेमको अनुभव प्रदान गर्ने उनले धेरै रातहरु मेरो काखमा समर्पण गरेकी थिइन् । मेरो हत्केलाको स्पर्श उनको निधारबाट तलतिर सार्दै गर्दा उनी पूर्णतया शिथिल हुन्थिन् । मसँग कहिल्यै नजर नजुधाउने उनले मेरो आदेश कहिल्यै इन्कार पनि गरेकी थिइनन् । मैले अरु कुनै स्त्रीसँग जीवन बिताउने कल्पनासम्म गरेको थिइनँ । मेरो विवाह कै रात उनले फोन गरेर आफु आजीवन अविवाहित बस्ने खुसीको खबर सुनाइन् । तर मलाई उक्त कुरामा विश्वास लागेन । उनमा अधिक नसा थियो । उनी कामुक थिइन् । र पारिवारिक जीवनकी सौखिन पनि । उनीसँगका भलाकुसारीमा म ती आशयहरु स्पष्ट बुझ्थेँ । उनलाई मैले राम्ररी बुझेको ठान्थेँ । तर, उनले मलाई गलत ठह¥याइन् । म बल्ल विश्वास गर्न बाध्य भएँ कि प्रभु येशुलाई समेत वहाँका प्यारा चेलाले तीनपटक सम्म इन्कार गरेका थिए । तर पनि वहाँले आफ्ना चेलालाई पहिले झैं प्रेम गरिरहनुभयो । मैले पनि माया मारेको त होइन । तर साथ टुटाएँ । त्यसले उनलाई मर्माहत पारेको हुनुपर्छ ।
पहिले पहिले त उनको धेरै याद आउँथ्यो । उनले धेरै पटक आत्महत्याको प्रयास गरेको सुन्थेँ । धेरै दुःख लाग्थ्यो । उनलाई भेट्न प्रयास नगरेको पनि होइन । तर उनी नै मेरो यादसँग टाढिन चाहन्थिन् । जुन असम्भव थियो । एउटै कारणले पटक पटक भावविह्वल हुने शायद उनको आदत बनिसकेको थियो । आफ्नो इच्छा पूरा गर्न नपाउँदा जसको पनि मन दुख्छ । तर त्यही वहानामा अति नीचता देखाउनु नहुने हो । शायद उनी मसँग बदला लिन खोज्दै थिइन्, मैले गरेजस्तै व्यवहार देखाएर । जुन असम्भव भयो । जसरी मैले उनको हृदयमा चोट बनाइदिएँ, त्यसरी नै मलाई पनि उनले तड्पाउन चाहन्थिन् । त्यो पनि सम्भव थिएन । त्यसैले उनी मृत्यु रोज्न लागिन् । एउटी युवतीले ट्रकमुनि फाल हालेर आत्महत्या गरेको खबर सुनेपछि मलाई अलि शंका लाग्यो । कतै उनी नै त होइन ? म भित्रैबाट चिसिएँ । ढुकढुकी बढ्न थाल्यो । म निदाउन के लागेको थिएँ, फेरी झसङ्ग भएँ । कोठाबाहिर बत्ती बलेजस्तै लाग्यो । ड्राइभर ब्युँझिएर आएछ भन्ठानेँ । स्वीच बारम्बार अन अफ गरेको आवाज सुन्दै थिएँ । अझै ट्रिपमै रहेछ क्यारे । बाहिर यता उती दगुरेको पनि आवाज सुनेँ । एकछिन पछि गाडी स्टार्ट गरेको आवाज पनि आयो । अरे !!! चाबी त मैले नै ल्याएको थिएँ । शायद ऊसँग अर्को चाबी थियो । तर ऊ बाहिरतिर जान सक्दैन । गेट बन्द छ । म ढुक्क भएँ । गाडीको आवाज बन्द भयो । तुरुन्तै हाम्रो कोठाको ढोकामा ढकढक आवाज सुनियो । कत्ति छिटो माथि चढेछ । अचम्म !!! आज यसले अत्ति गर्ला जस्तो छ । सक्थेँ भने २ झापड हानेर आउथेँ । ड्राइभरको तमासा सिद्धएछ । फेरी उनै मेरी प्यारी प्रेमिकाको बारेमा खुल्दुली मच्चियो । उनको मायालु साथ केवल विगतको मीठो स्मृतिमात्र बन्यो । त्यो वास्तविक जीवन थियो जस्तो पनि लाग्न छोडिसक्यो । यदि उनले आत्महत्या नै गरेकी हुन् भने त्यो मेरो कारणले हुनुपर्छ । मलाई त्यसको ठुलो भार लाग्नेछ । सीसा फुटेजस्तो झर्र्याम्म आवाजले मेरो सोचाइमा अवरोध पु¥यायो । ड्राइभरसँग फेरि रिस उठ्यो । ढोकामा मज्जाले ठटाएको आवाज आयो । बाहिरका धेरै बत्ती र फेनका स्वीचहरु अन भए । फेनहरु चल्न थाले । सबैतिर उज्यालो पनि भयोहोला । तैपनि म कुम्भकर्ण झैं लडिरहेँ । अचानक ढोकाबाट चुइंइंय आवाज आयो । ढोका खुलेको मैले थाहा पाएँ । बाहिरको उज्यालो कोठाभित्र पस्यो । यो त असम्भव घटना भयो । मैले बाटोमा आउँदाको घटना सम्झिएँ । पत्रकारले फोनमा भनेको घटनाको याद आयो । म एकदमै डराएँ । भित्रैबाट कम्पन आउन लाग्यो । म के गरुँ गरुँ भएँ । डरले थरर्रर्र काँप्न थालेँ । त्यसै थाकेको शरीर हलचल नगरी पल्टिरहेँ । मेरी प्यारी धर्मपत्नी मेरो छातीलाई न्यानो पार्ने काममा व्यस्त थिइन् । उनलाई अवरोध गर्न चाहिनँ । यो ड्राइभरकै कर्तुत भए उसलाई भोलीपल्टै निकालिदिने थिएँ ।


तल्लो तलाबाट माथितिर ड्याङ् ड्याङ् आवाज आउन थाल्यो । म पूरा आतिएँ । श्वास बढ्न थाल्यो । फेरी भ¥याङबाट कोही हत्तारमा कुदेर माथि चढेझैं आवाज आयो । ठीक मेरो कोठा बाहिर एउटी महिला जोडले चिच्याएको आवाज सुनें । अब मेरो सातो पुत्लो उड्यो । म आत्म समर्पणको स्थितिमा पुगेँ । इश्वरको सम्झना गर्नु बाहेक मेरो अर्को विकल्प थिएन । मनमनै भगवानको नाम सुमिरन गर्न लागेँ । बाहिरको बत्तीको उज्यालोले मेरा बन्द आँखा पनि तिरमिराए झैं भए । एकै छिनमा त्यो प्रकाशलाई कालो छायाँले छेक्यो । पूरै कोठा अन्धकार भएजस्तो लाग्यो । त्यो कालो छायाँ सर्दै सर्दै म तिर आएजस्तो भान हुँदै थियो । फेरी त्यो छायाँ मेरो अगाडिबाट हट्यो । त्यहि प्रकाश पुनः मेरो आँखामा प¥यो । शायद त्यसले मेरो अनुहारको आकृति नियाल्न खोज्दै थियो । म लामो लामो श्वास लिँदै थिएँ । त्यो कालो छायाँ मेरो अगाडिबाट फुत्त मेरी श्रीमतीको शरीरमाथि फाल हाल्यो । उनी मलाई छोडेर अर्कोपट्टि पल्टिइन् । मलाई चिच्याउन मन लाग्यो । तर सकिनँ । आँखा खोल्न, चल्मलाउन, केहि गर्न सकिनँ । त्यतीबेला म मरेतुल्य भइसकेको थिएँ । अचानक मेरी प्यारी जुरुक्क उठीन् र बत्ती बालिन् । उनी उठ्दा ढोका बन्द भइसकेको रहेछ । उनले मतिर हेरिन् । मेरा आँखाबाट पानी बग्दै थियो । उनले त्यो पुछिदिइन् । विस्तारै मेरो कपाल र अनुहार मुसारिन् । मेरो शीरदेखि छातिसम्म धेरैपटक चुम्बन गरिन् । उनले मेरा पाखुरामा समातेर म तिर ढल्किँदा उनका आँखाबाट झरेका तीन थोपा आँशु मेरो छातिमा टक्क अडिए । उनका यति व्यवहार पश्चात मैले डर हराएको अनुभव गरेँ । म मा पुनर्ताजगी छाउँदै थियो । उनी फेरी आफ्नो यथास्थानमा पल्टिइन् । केहि क्षणमा नै पुनः ढोका खुल्यो । त्यही प्रकाश फेरी मेरो आँखामा प¥यो । त्यहि कालो छायाँ मेरी श्रीमतीको शरीरबाट फाल हालेर कोठाको भुइँमा पुग्यो । त्यो ढोकातिर लम्कँदै थियो । म ठुलो आँट र बल गरेर चिच्याएँ । “को हो ?” त्यती नै बेला मेरा आँखा खुले । ढोका ड्याम्म लाग्यो । बत्ती निभे । पंखा चल्न छाडे । उनी जुरुक्क उठीन् र बत्ती बालिन् । मैले मेरो छाती हेरेँ । तीन थोपा आँशु यथावत अडिएका थिए । उनले आफ्नो कपालले मेरो आँखामा झ्याम्म हानिन् । म झस्किएँ । उनको कपाल त्यती लामो थिएन । म आँखा मिच्न थालेँ । उनी ठुलो स्वरमा मुस्कुराउन थालिन् । आश्चर्य लाग्यो । कति अनौठो हाँसो । उनले त मसँग कहिल्यै यस्तो व्यवहार गरेकी थिइनन् । उनी अझ ठुलो आवाजमा हाँस्न लागिन् । उनीतिर नजर लगाउनासाथ म छाँगाबाट खसे भैmं भएँ । उनी मेरी श्रीमती थिइनन् । फेरी आँखा मिचेर हेरेँ । उनी त मेरी पूर्व प्रेमिका थिइन् । ठीक अघि कोठाको बाहिरबाट आएको आवाज जस्तै जोडसँग चिच्याहट तवरले उनी हाँस्न लागिन् । मेरो मुटु दुख्यो । त्यस पश्चात के भयो मैले केहि थाहा पाइनँ । आज दुई महिना पश्चात म ब्युँझिएको रे । हस्पिटलको बेडमा । पहिलो पटक आँखा खोल्दा उनै मेरी प्यारी पत्नीको कारुणिक अनुहार देखेँ । उनका आँखाबाट बगेको आँशु चिउँडोमूनि टिलपिल टिलपिल गर्दै थियो ।

एनबी इलुङ्ग, बिर्तामोड, झापा
पूर्वञ्चल दैनिक बिर्तामोडमा प्रकाशित मिति २०७२/०५/१२ शनिबार
सर्वाधिकार लेखकमा सुरक्षित

Thursday, May 16, 2013

हेर्नै चाहन्न


हेर्नै चाहन्न अब तिम्रो छायाँ पनि
कन्चित लाग्दैन अब त तिम्रो माया पनि |
तिम्रो माया चिराइतो जस्तै तीतो रै'छ
तिम्रो माया आँटाको रयाल-रयाले लिटो रै'छ |
लिटो त के भन्नु तिम्रो माया लिसो रै'छ
तिम्रो माया 'मेडनको' आइसक्रिम भन्दा चिसो रै'छ |
बुफन त तिम्रो कंचनजंघाको चुली जस्तो
तर तिम्रो माया भने कुखुराको ह्वास्स गन्हाउने सुली जस्तो |
ब्याग त तिम्रो कति सुन्दर चेन भा'को
तर त्यहि ब्यागभित्र हल्का ५\५ रुपियाँ मात्र छटपटी रा'को |
तिम्रै मायाले गर्दा म म्याट्रिकमा ५ पल्ट फेल भा'को
तिम्रै मायाले गर्दा म धेरै पल्ट जेल पनि गा'को |
घोडाको पुच्छर तिम्रै केशराशी ठानी खेलाउने सम्म भएँ
ठुटालाई तिमी नै ठानी अंगाल्ने पनि भएँ |
तिम्रो मायाले जे भएँ एस्तै भएँ
तिम्रो बोक्रे मायाले 'बौलाहा' उत्ताउलो भएँ |

Sunday, March 10, 2013

माछा सम्झी तिमीलाई जाल भित्र हालौं जस्तो |
मनका सबै भावनालाई तिम्रै दिलमा फालौं जस्तो ||

सोह्र बर्षे जवानीमा काउकुती लाग्दा मलाई |
मध्य रातमा तिम्रै कोठातिर पाइला चालौं जस्तो ||

Tuesday, February 26, 2013

गजल


विधा : गजल
लेखक © : एनबी इलुंगा
मिति : २०६९/११/१५ मंगलबार

हिच्किचाउन चुकेपछि अधरको भोग गरेँ |
सुर्यतारा लुकेपछि अधरको भोग गरेँ ||

कल्पनाको बुर्कुसीमा आत्तिएर झस्किएर
ओठ तिम्रो सुकेपछि अधरको भोग गरेँ ||

एता गयौ उता गयौ फर्की आयौ लुरुलुरु
छेउमा आई रुकेपछि अधरको भोग गरेँ ||

अंगालोमा पल्किएर मस्किएर लास्किएर
केशराशी फुकेपछि अधरको भोग गरेँ ||

आधा वस्त्र फुस्किएर बन्द कोठा चम्किएर
जोडी नयन झुकेपछि अधरको भोग गरेँ ||

नारी अनि प्यारी भन्दै बडा घरको ज्वाईं खोज्ने
थोत्रो रच्छ्यान थुकेपछि अधरको भोग गरेँ ||

तन जिउने मन जिउने समाधि र सम्भोगको
ओशो भाषण भुकेपछि अधरको भोग गरेँ ||

Thursday, December 13, 2012

पापी चुल्हो


कथा : पापी चुल्हो
.
लेखक © : एनबी इलुंगा
.
मिति : २०६७ आषाढ ०८
.
प्रथम पटक प्रकाशित : पुर्वान्चल दैनिक विर्तामोड, झापा
.

      चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन बाध्य भए | विचरा कलिला ती अबोध बाल-बालिकालाई काँधमा र काखीमा च्यापेर राजा-रानी छिमेकी राज्य समीरन तर्फ सुइ कुच्चा ठोके | राजा सुक्रचन्दको आफ्ना सन्तानप्रतिको आघात प्रेमका कारण उनीहरुलाई छाडी जान सकेनन् | कसैले आफु भागेको सुइँको नपाउन् भन्नका खातिर ऊनी पैदल दौडिए | समिरन का नरेश सुलोचनलाई एक संदेश पठाएर आफु दोश्रो रातको मध्य सम्ममा आईपुग्ने वाचा गरेका छन् | ठुलो आशा लिएर ऊनी आफ्नो सम्पूर्ण राज्यभार त्याग गरी छिमेकी राज्यको सीमानाभित्र प्रवेश गरेका हुन् | उनको आफ्नै जीवन रक्षाको भार थाम्न गाह्रो परेको छ उनलाई | ऊनी आत्तिएका पनि छन्, केहि समय अगाडीसम्म सिपोन र समिरन बिच युद्ध चलिरहेको थियो | यी दुई राज्यहरुको मिलाप अझसम्म पनि पूर्ण भैसकेको थिएन | यदि समिरन का राजा सुलोचनले उनको अनुरोध इन्कार गरे भने उनको प्राण नै धरापमा पर्नेछ | उनलाई आफ्नो ज्यानभन्दा सन्तानको भविष्यको ज्यादा पिर छ | तिनलाई उचित व्यवस्था मिलाइदिन सके उनलाई चैन मिल्ने थियो |
सीमाना पार गरेपछि राजालाई अलि सन्तोष मिल्यो | कुंजिनी वनको एक छेउ प्रवेश गर्दै गर्दा दश महिना मात्र उमेरका कान्छा राजकुमार चिच्याएर रुन लागे, रानी सुप्रियाले उस्लाई झापारिन्, यो उनको सन्तान थिएन | जेठी महारानी सकिलादेवीले यो सन्तानलाई जन्म दिएर यो संसारबाट बिदा लिएकी थिइन् | यी तीनै सन्तानकी आमा सकिलादेवी थिइन् | ऊनी जनप्रिय पनि थिइन् | उनको मृत्युमा सम्पूर्ण सिपोनीहरु शोकाकुल भएका थिए | राजाले आफ्नो छोरालाई नहाप्काई फकाउन सुप्रियासंग अनुरोध गरे | रातको समय भएकाले उनीहरुलाई निद्रामा पर्न सहज भयो | चाँडै नै झ्याउँकिरीहरु कराउन छाडे | मिर्मिरे उज्यालोले बाटोमा प्रकाश छर्न लाग्यो, त्यतिखेर राजाले आफ्नी रानीको अनुहार हेरे | ऊनी रुष्ट थिइन्, ओठ राम्ररी पोटाएको थियो, नाक र गाला हप्प फुलेका थिए, अनि आँखा भित्र गाडिएका रसिला देखिन्थे | राजाले रानीलाई बोलाउँदै भने, "किन रिसाएकी प्यारी सुप्रिया? तिम्रै खुसीको परिणाम त हो यो |" रानी बोलिनन् |शायद ऊनी सोच्दै थिइन्, "राजा पतनको बाटोतर्फ लाग्दैछन्, यदि ऊनी राजा रहेनन् भने महारानी भएर हुकुम गर्ने सपना अधुरै रहने भयो |" वास्तवमा राजालाई दरवार छोड्न बाध्य गराउने मुख्य कारण ऊनी नै थिइन् | जेठी रानी सकिलादेवीको अवशान भएको छोटो समय मै राजालाई भड्काएर आफु महारानी बन्ने उद्देश्यले उनीसंग विवाह गरेकी थिइन् | सौन्दर्य बाहेक अन्य सद्गुणहरुको गरिबी थियो ऊनमा | प्रजाहरुको विरोध र राजाप्रति दलहरुको असहयोगका कारणराजाले दरवार छाडे, तर सुप्रियालाई त्याग्न सकेनन् |
उषाको किरण बढ्दै जाँदा राजा-रानी दुवैका गोडा गल्न लागे, यद्दपि हिंडाइको डेग रोकिएन | रानिकोअनुहार पुरै रसिलो भयो, परेलीको गाँजल चुहिन लाग्यो | मध्य दिनको प्रखर घाम उनीहरुको पछाडी लाग्दै थियो | आफ्ना छोराछोरी भोकाएको राजाले अनुभव गरे | सुप्रियालाई आफ्नी आमा सम्झिएर कान्छा राजकुमारले उनको स्तन चुस्न खोजे | जेठा राजकुमार मलिन स्वरमा बोले, "पिताजी भोक लाग्यो |" राजकुमारी रुन लागिन् | अब राजा-रानीलाई गाह्रो पर्ने भो | मध्य जंगलमा खाने विकल्प केहि थिएन | राजा सुक्रचन्दका नजर एउटा झुप्रोमा थुरीए | उनलाई आफ्ना सन्तानको भोक मिटने आशा जाग्यो | उनले सबैलाई त्यतैतिर डोर्याए | ढोकाको समिपमा पुग्नु अगावै त्यस झुप्रोबाट एउटी वृद्ध महिला निस्किईन्, कम्मरमा हात राखेर ठिङ्ग उभीइन् र मुजै-मुजा परेको अनुहारको बहादुरी देखाउदै कराइन्,"तिमीलाई म चिन्दछु | तिमी सिपोनका राजा सुक्रचन्द आफ्नो शत्रु राज्य समिरनको भूमिमा आइपुगेकाछौ | तिमीआउने खबर मलाई पहिल्यै थाहा थियो | रास्ट्रीय शत्रुताका नाताले तिमीपनि मेरा शत्रु हौ | तर, आज तिमी मेरो शरण लिन आइपुगेका छौ | तिमीलाई म मेरो झुप्रोमा स्वागत गर्छु |"
राजाले ती महिलासंग बिन्ति गरे, "हजुर को हुनुहुन्छ ? म पनि जान्न चाहन्छु |"
उनले झापारिन्, "मलाई चिन्नुमा तिम्रो कल्याण छैन राजन | तर, म तिम्रै भलाइको लागि यहाँ आएकी हुँ |"
राजाले विवाद गर्न चाहेनन् र उनीसंगै सरासर भित्र पसे | ती मसिना पिउसाहरु अलमल्ल परेर टुलुटुलु हेरिरहेका थिए | केहि भेटे खाइहाल्ने ध्याउन्नमा पर्खी बसेका थिए | जमिनमा खनेको खाल्डोमाथि तीनवटा ढुंगाका चम्का राखिन् ती वृद्धाले | ती तीन चम्काहरुमध्ये एउटा अलि कम्जोर देखिन्थ्यो | जंगली पातहरुबाट बनेको पिर्का माथि अडिएका राजा सुक्रचन्दले यो कुरा तुरुन्तै थाहा पाए | उनले वृद्धा समक्ष जिज्ञासा पोखे, "आमा यो एउटा चम्को त अरुको तुलनामा कम्जोर देखिन्छ नी, अर्को राख्न सकिन्न?"
       वृद्धाले आफ्ना उत्तेजित आँखा राजासँग जुधाईन् | उनका आँखाले राजालाई गलत ठहर्याउँदै थिए | वृद्धाले शव्दमा व्यक्त गरिन्, "राजन, तिमीले कमजोरी ठम्याउन सक्यौ | तर, यो दुनियाँमा कमजोरी रहित कोहिपनि र केहिपनि छैन, त्यो कुरा बुझेनौ |"
       राजा अलमल्ल परेका देखिए , शायद उनले कुरा बुझेनन् | वृद्धाले त्यसै बखत एउटा ठुलो डेक्चीमा एक भाँडो पानी बसाईन् | चुलोको मुखबाट आगो छिराएपछि बच्चाहरु चुल्होको नजिकै पुगे | राजा आत्तिन लागेको देखेर वृद्धाले फेरी भनिन्, "राजन, तिमी सिपाहीहरुको पहराभित्र बसेर सुखी र खुशी थियौ, तिमीले आफ्नो कमजोरी थाहा नै पाएनौ | आफ्नो र राज्यको हितका लागि कुनै प्रयत्न गरेनौ | तिमी आफुलाई बलियो ठान्दै थियौ | परिणाम यस्तो भयो | राजन, अब तिमीलाई थाहा छ यो चुल्होको एउटा चम्को कम्जोर छ | तिमी आफ्नो परिवारको भोक मेटाउन संघर्ष गर | आज तिमी बिफल भयौ भने तिम्रो सर्वनाश हुनेछ |" उनले कुरा मोडिन्, "मलाई थाहा छ, तातो पानि मात्र पिएर तिम्रा सन्तान अघाउदैनन् | म केहि अन्न खोजेर ल्याउँछु | त्यतिन्जेल आगो र पानीको स्याहार गर |"
       राजा-रानी असमज्जसमा परे | के हुन गैरहेको छ भन्ने उनीहरुलाई पत्तो भएन | राजाले आफ्ना छोरा-छोरीलाई चुलोबाट अलि पछाडि सारे | रानीले राजालाई साउती मारिन्, "यी बच्चाहरु यहाँ सुरक्षित हुन्छन्, यिनलाई यहीं छाडेर हामि भागौं | हामीलाई खतरा हुन सक्छ |" राजाले सुनेको नसुने झैं गरे | पानि उम्लन लागिसकेको थियो | बाहिर घोडाको टाप बजेको आवाज सुनियो | राजाले सानो प्वालबाट चियाए | समिरन राज्यका उनका विश्वाश पात्र राजदुत आएका रहेछन् | ऊनी फुत्त बाहिर निस्किए | राजालाई सम्मान दिइसकेपछि राजदुतले सुनाए, "महाराज, समिरनका नरेश सुलोचनले आफ्ना सिपाहीहरुलाई आदेश दिएका छन्, तिनीहरुले हजुरलाई जहाँ भेटे पनि टुक्रा पार्नेछन् | महारानीलाई सुलोचनकहाँ सुम्पने र राजकुमार तथा राजकुमारीलाई सुरक्षित साथ राजदरवारमा पुर्याउने आदेश छ |" राजा हड्बडाउन लागे | आफुलाई आश्रय दिने ती वृद्धाको बारेमा राजाले सोधे | उत्तरमा राजदुतले भने, "ऊनी सुलोचनकी विश्वासपात्र थिइन् | पछि उनलाई राजद्रोहको आरोप लगाएर दरवारबाट खेदाए र ऊनी लामो समयदेखि यो जंगलमा लुकेर बसेकी छिन् | तर, उनलाई सुलोचनका सैनिकहरुले चाँडै नै खतम गर्नेछन् |"
       राजालाई असह्य पिडा भयो | ऊनी आत्तिन लागे | उनले राजदूतसँग सहयोग माग्दै भने, "अब हामि जीवन रक्षाकालागि के गर्न सक्छौं ?" राजदुतले आड दिए, "महाराज, हजुरहरु यहाँबाट टाढा भाग्नुस्, हजुरका सन्तानको रक्षा हर सम्भव म गर्नेछु |" राजा हत्तपत्त भित्र पसे | पानि उम्लिरहेको डेक्चीमा एउटा ढुंगा हालिदिएर छोराछोरीलाई भने, "मैले यहाँ पापा हालिदिएको छु, एकछिनमा पाक्छ | हामि चाँडै बाहिरबाट फर्कन्छौं र संगै बाँडी-चुंडी खानुपर्छ है, यहीं बस्दै गर, कतै पनि नजानु नी |" शुक्रचन्द र सुप्रिया त्यहाँबाट कुलेलम ठोके | ती मातृहिन बबुराहरू पापा खान चुल्होको वरिपरी झुम्मिएर बसे, तिनलाई के थाहा, त्यस चुलोको एउटा चम्को कम्जोर भएको !"
       राजा-रानी भाग्दै जंगलको एउटा कुनामा पुगे | त्यहाँ एउटा सुन्दर डांडा थियो | विभिन्न किसिमका फुलहरु ढकमक्क फुलेका, पुतलीहरुको भ्रमणस्थल थियो त्यो | उनीहरु त्यहाँ पुग्नासाथ आकाशमा गडगडाहट सुरु भयो | बिजुली चम्कन थाल्यो | त्यति सुन्दर वातावरणमा पनि राजालाई सन्तानको चिन्ताले छोडेको थिएन | रानीलाई मृत्युको भय थियो | अकस्मात पानि दर्कन लाग्यो | उनीहरु केहि क्षण छहारीमा अंकमाल गरेर बसे | छहारीले पानि छेक्न सकेन | सुप्रिया पानीमा रुझ्न लागिन् | उनको शरीरमा बर्षातका थोपा र शितल हावाको झोंकाले उत्तेजना पैदा गरायो | उनका ओठ, गाला, आँखा र पुरा शरीर नै कामुक्तामा बदलिन लागे | राजाले त्यो सब आफ्ना आँखा अगाडी देखेर सुप्रियालाई रोक्न खोजे | तर, सुप्रियाको यौवनको उन्मात तृष्णा अगाडि राजाको वश चलेन | उनको धड्कन बढ्न थाल्यो | धेरै समयदेखिको अशान्त मन त्यहाँ फुक्का भयो | राजाले समेत सम्पूर्ण चिन्ता र भयलाई भुले | उत्तेजनाले मत्त जोडीले नयाँ-नयाँ अद्भुत क्रिडाहरु रच्न लागे | सुप्रियालाई आफ्ना हातको सहारा दिए सुक्रचन्दले | ओठमा ओठ र छाती जोडेर मधुर प्रेम साट्न लागे | बर्षातले जमिनमा ठुला-ठुला फोकाहरू बनाउँदै थियो, ती प्रत्येक फोकामा उनीहरु आफ्ना क्रिडा ऐनामा झैं देख्न सक्थे | फुलहरु लजाएर झुक्न थाले, पुतलीहरु लजाएर लुक्न थाले | सुप्रियाका आँखा बन्द थिए | ऊनी सुक्रचन्दका मायालु स्पर्शले रंगमंगीदै थिइन् | दुवैका मनभित्र थन्काएर राखेका प्रत्येक इशाराहरु प्रस्फुटित हुँदैथिए | उनीहरु बेहोस अवस्थामा अप्रत्यासित युद्धभूमिमा जीवनको आनन्दको संघर्ष गर्दै थिए | अचानक सुप्रियाले अनौठो आवाज सुनिन्, उनका आँखा खुले | आफ्ना पति सुक्रचन्दको शरीर दुई टुक्रा परेको उनले देखिन् | आफ्नो शरीर समेत निर्वस्त्र रहेको थाहा पाएपछि एक साथ लाज र पीडाले भूईंमा घोप्टो परेर लडिन् |
       घन्टौंसम्म कुर्दा पनि आफ्ना माता-पिता नआएपछि सुक्रचन्दका छोरा-छोरीको प्रतिक्षा गर्ने क्षमता समाप्त भयो | जेठा राजकुमारले पापा पाकिसकेको ठाने | ऊनी भोक मेटाउने पापा निकाल्न तयार परे | उनका पिताले पापा भनेर पानीमा हालिदिएको ढुङ्गो पनि कम्जोर चम्कामाथि परेको उनले बुझ्नै सकेनन् | घन्टौंसम्म तातेको पानीको भाँडोलाई उनले हल्लाईदिए | त्यो "पापी" चुल्होले उनीहरुको पीडा बुझेन | कम्जोर चम्को लड्यो | डेक्चिको सम्पूर्ण "पापा" अनाथहरुको शरीरमाथि घोप्टियो | सुलोचनका सैनिकहरुले केवल उनीहरुको चित्कार सुने | निर्दोषहरुको हत्या गर्न घन्टौंसम्म बलिरहने त्यो चुलो "पापी चुल्हो" थियो | समाप्त ||
.
.
Coming Soon अप्रकृतिक कथा "कालो छायाँ" by N.B.ELUNGA

Wednesday, November 28, 2012

सुहाग रातको संकेत


कथा: सुहाग रातको संकेत
.
लेखक © : एनबी इलुङ्गा
.
मिति: २०६६/१०/२०
.
प्रथम पटक प्रकाशित मिति: २०६६/११/०८ पुर्वान्चल दैनिक बिर्तामोड, झापा


हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई अँगालो हाली | म छक्क परें | उ मेरो छातीमुनि लुकी | म थाकेको थिएँ | मलाई सुहागरातको केहि परबाह थिएन | म खाटमा पल्टिएँ | उसले टेरिन | मेरो शरीर माथि पल्टिई | म अर्कोतिर कोल्टीएं |
उसले मुख फोरी, "आज हाम्रो सुहाग रात !"
            म जुरुक्क उठें र सम्झाएँ, "आज मात्र हैन अब त सिंगो जीवन हाम्रै लागि हो, आजलाई बित्न देउ |"
यसो भन्दै गर्दा मेरो एक हात उसको शीरमा कपाल सुम्सुम्याउन पुगेको थियो | अर्को हात उसका गालामा अडेर उसको अधरमा रंग भर्दै थियो | मेरो छातीमा टाँसिएको उसको शीर मेरा आँखातिर फर्कियो | मुसाको शिकार गर्न लागेको बिरालाका आँखा झैं मेरा आँखामा डस्न खोजी उसले | उसको शरीर तातेको र तनक्क तन्केको थियो | उ कामुक देखिई | मेरो हातको सुम्सुम्याईले गर्दा उसका कपालका त्यान्द्राहरु फुकेर छरपस्ट भैसकेका थिए | उसको उद्देश्यमा लालसा थियो, शारीरिक प्यास तृप्त गराउने, मैले त्यहि थाहा पाएं |
 मेरो काउन्टर अफरलाई इन्कार गर्दै भनी, "मेरो जीवनमा यो दिन फेरी फर्कने छैन, म यो दिनको शुख र खुशीबाट बन्चित हुन चाहन्न |"
मैले फकाएं, " तिमि पीडाले छट्पटाउनेछौ |"
"मलाई जस्तो सुकै पिडा मन्जुर छ" उ कठोर भई |
उसको बोलि र ब्यबहारले मलाई एक पटक सोच्न बाध्य गरायो | यद्यपी उसका इच्छाहरुलाई इन्कार गर्ने शव्द थिएनन् मसंग | जवर्जस्ती तवरले उसका इच्छा मार्दा भोलि समाजमा मलाई नामर्दको परिचय दिलाउली भन्ने डर थियो | तर म एउटा प्यासी मनको चितुवा किन आफ्नो शिकार त्याग गरौँ? उसको शीर उठाएर अधरमा चुम्बन गरें | मुसुक्क हाँसेर स्वीकारोक्ति दिएँ | त्यतिखेर उसले मेरो जुँगालाई कामुक देखेको हुनुपर्छ, नाकै मुनि म्वाई खाई |
उसका हात कति छिटो अगाडी आए, मैले देखिन | मैले सुरक्षा अपनाउन खोजेको थिएँ, उसले त्यसलाई हुत्याई |
मैले आस्चार्य मान्दै सोधें |
उसले फर्काई |
मैले उत्सुकता देखाएँ, "किन?"
उ कडकिई |
यति भए मलाई पुग्यो, चड्कन लगाएँ गालामा | आँशु झार्दै अर्कोपट्टि पल्टिई |
म रातभर उसैलाई सोच्दै रहें | आँखामा निन्द्रा परेन |
      आफ्नै साजनलाई ताजन दिनु परेकोमा म आफैलाई निको लागिरहेको थिएन | दिनभरी धेरैले सोधीखोजी गरे के भयो दुलहीलाई भनेर | घोसे भएरै टारी | मेरो अनुहारमा फर्केर पनि हेरिन | बेलुकी बेलैमा गएर घोप्टिछ खाटमा | मसंग साह्रै रिसाएकी हुनुपर्छ | विस्तारै गएर एउटा हात छामें | चिसो थियो | सारीको सप्को अनुहारबाट हटाएँ | कपालले पुरै अनुहार छोपेको रैछ | कपाल पनि पन्छाएं | उज्यालो अनुहार र रसिलो ओठ देखेर म मातिएं | अब लिपस्टिक किनिदिन मलाई पैसाको लोभ नलाग्ने भयो | कमसेकम आधा त मै डसीहाल्छु | निधार छामें | धेरै तातेको रैछ | कपाल दुखेछ क्यारे | गालामा म्वाई खान मन लग्यो | मेरो नाक क्याच्च भयो | म्वाई खान खोज्दा-खोज्दै टाउको उठाइछ | नाकमा नमज्जाले लाग्यो | म रन्थनियें | उ किन उठेकी थिई कुन्नि कारण बुझ्न चाहिनँ | नाक दुखाइको पिडा सहन नसकेर पल्टिएँ | एउटै ओच्छ्यानमा आफ्नै प्यारीसंग टाढीनुपर्ने विवशता अजीवको लाग्यो |
      चार औंलाको छाप मैतालु पुर्याउन जांदासम्म हटेका थिएनन् | उ अलि आतिएकी जस्तो लाग्यो | त्यो दिन उसका ओठमा मैले नै लिपस्टिक दलिदिएँ | मैले उसलाई खुसि पार्नु थियो ताकी उसले माइत पुगेर नखरा पार्नु नपरोस् | उसका हरेक क्रियाकलाप म नियाल्दै थिएँ | उ आफ्ना हरेक अंगहरुमा हात पुर्याउँदा सचेत हुन्थी | शायद तिनका रक्षकले उसलाई ती अंगहरु चलाउन बन्देज लगाएको छ | हो त मै त हुँ तिनको रक्षक | मलाई त्यसको अधिकार छ | म आफै गएँ उसको चोली मिलाइदिन | उसले निलो चोली निकाली | मैले त्यसको अर्थ सम्झीएँ | निलो चोली छातीमा टिमिक्क भयो | उसका ओठमा अझै हाँसो आउन सकेको थिएन | रातो साडी निकाल्दै गर्दा उ अलि निहुरेकी थिई | चुम्बकले फलामलाई झैं उसको सलक्क परेको सुरिलो शरीरले मलाई खिच्यो | म बत्तिएर उसको कम्मर समाउन पगेछु | उ झस्कीई | मेरा हात चोलीमाथि चिप्लिन थालेछन् | मलाई त्यसको होसै थिएन | एक पटक होसमा आउँदा उसका ओठमा लिपिएको लिपस्टिक सबै लत्पतिएको पाएँ | उसका गालाहरु रंगिन भैसकेका थिए | मल्मल्को बिच्छ्यौना माथि पल्टिदा उ निदाएजस्तो गरी | उसको शरीरबाट रगत चुहिन लागे झैं रातो दखिन्थ्यो | मेरा औंलाका हरेक स्पर्शले उ कुत्कुतिन्थी | मेरो शरीरमा कम्पन उत्पन्न भयो | म थरररर्रर... काम्न लागें | अब म् होस् गुमाएर अरु क्रिडा गर्न सक्ने अवस्थामा थिइनँ |
मैले उसका गाला सुम्सुम्याउदै बिस्तारै बोलाएँ, "एई ! उठ !"
उ ब्युँझिई |
मैले फेरी भनें, "दिउसै रात पारे रात के का लागि नी?"
उ बोलिन र उठ्ने मन पनि गरिन | मलाई पुगेछ, शरीर शेलायो | एक छिनपछी उतिर नजर लगाएँ | आँखाबाट महँगो पनि बग्न लागेको थियो |
      नयाँ ज्वाईंको आगमनको रौनक थियो ससुराली घरमा | ससुरालीको पहिलो अनुभव म पनि गजक्क परेर बसेको थिएँ | अस्ति लगाएदेखि नधोएको मोजा गन्हाउने डरले घरभित्रै पस्दासम्म पनि खोलिनं | मलाई खै क-कसले घेरेका थिए | सबैजना मलाई बुझ्न आतुर देखिन्थे | तर मेरा आँखाले उसैलाई खोज्दै थिए | खै कता गई? खाना खाने बेलामा पनि सासु आइन् बोलाउन | कसैले लोटामा पानि टक्र्याएन | डाइनिंग टेबलमा डोर्याए ससुराले | औशनी हाल्ने बेलामा झुक्किएँ, चम्चाले हालुं कि नहालूं ? बोइलरका चोक्टा लतपतिएका सिता घांटीबाट छिर्नै मानेनन् |
      "ए मोरी अलिकति दहि ले न, भात छिर्थ्यो कि?" भन्न पनि पाइनं, उ थिइन |
कसैले मलाई खास वास्ता गरेजस्तो लागिरहेको थिएन | आफ्नो मान्छे नभएपछी अर्काले वास्ता गरे-०-नगरेको सबै व्यर्थ थियो | सुत्ने बेलामा ओच्छ्यान मिलाईदिन पनि आइन | देख्नै नपाई ढलें |
      भोलिपल्ट अघिल्लो दिनको भिड थिएन | सबै लाखा-पाखा लागेछन् | बिहानको भोजन गर्नुअघि सम्म म एक्लै सोफामा निदाएछु | भोजनालयमा उसलाई नदेख्दा म फेरी हस्रक्क भएँ | उसका बाबु आमा आपसमा गन्गनाउदै थिए | हिजो आउने बित्तिकै उसकी बहिनीले काकाका घरतिर लिएर गएकी रे | भरे आउली कि भन्ने आशा देखाउदै थिए | काकाकै घरमा जाँदा त मलाई पनि संगै लिएर गएको भए हुने | म संग रुस्ट भएकी हुनुपर्छ, अन्यथा यसो नगर्नु पर्ने हो | मेरो कपाल तात्दै थियो | मैले धैर्यता अपनाएँ | घर फिर्न ढिला हुन सक्थ्यो |
      सोच्दा सोच्दै उ आउदै गरेको देखें | भर्यांग उक्लदै गर्दा मेरो मुस्कुराहटको जवाफ दिईन | कस्ती अटेरी केटि रैछ | म धैर्य गरि बस्न सकिन | उ पसेकै कोठाभित्र पसें | देख्नेहरुले लाज पचेको भन्ठाने होला ! अरु केटीहरु पनि संगै पसेका रहेछन् | म अलक्क बसें |
      "कहाँ गएकी थियौ? हिजो किन आइनौ?" मैले जवाफ पाइनँ | धैर्य गर्नुको विकल्प थिएन | उ व्यस्त थिई | खै कुन चै केटिले उसका गाला रंग्याईदिई | म आफैलाई लिपस्टिक लगाइदिने मन थियो | ओभरटेक गर्न चाहिनँ | छड्के पर्दा रातो भएर पाकेको चेरी जस्तै ओठ देखें | गुलियो हुनुपर्ने | बेलुकी चाखीछाड्छु | बिहेकै साडी चोलोले छोपिदिए उसका सबै अंगहरु | राम्ररी नियाल्ने रहर मेटिएकै थिएन | खाडीबाट भर्खर धोएर निकालेको पाटा जस्तै कपाल बनाइदिए | सबै त्यान्द्राहरु असरल्ल छरिएका थिए | उसको शृंगार हेर्दा हेर्दै मैले आफैलाई भुलेछु | उनीहरु कोठाबाट निस्किएपछि हत्तार हत्तार सर्ट भिरें | पेन्ट झट्कार्दा खुल्ला झ्याल बाहिरको दृश्य स्पस्ट देखें | ऊ सहित केहि केटीहरु उँधो लाग्दै थिए | एउटा घरभित्र पसे |
      उसलाई पर्खिएको केहि घण्टा बितिसकेको थियो | ऊ आउने छाँट देखिनं | उसका बाउ-आमाले कुनै चासो दिएनन् | के हुँदैछ भन्ने उनीहरुलाई थाहा थियो | केहि बेर पछि मा पनि स्पस्ट हुँदै थिएँ | उसकी एउटी साथि आई | मैले उसलाई पहिर्याइदिएको हरियो पोते र रातो सिन्दुरको बट्टा लिएर आएकी थिइ त्यो केटी | म रनक्क तातें | तुरुन्त सेलाएँ | कारण बुझेपछि थाहा लाग्यो सेकेन्ड हेन्ड केटी थर्ड हेन्ड लागिछ | उसलाई सुभकामना संदेश पठाएँ, ससुरालीले बिहेमा दिएको बाइकको चाबी ससुराको थुतुनोमा हुत्याएँ, अनि फर्किएँ लुरु-लुरु एक्लै, केवल एक्लै...... |

Coming Soon: "कथा: पापी चुल्हो" ! By N B ELUNGA.