म नेपाली

Wednesday, October 11, 2017

लघुकथाः साइँली

छाप्रे घरको ढोकाबाट ढुनमुनिँदै साइँली बाहिर निस्किई । रछ्यानमा वाकीदिई । दुर्गन्ध फैलियो । साइँलो पछिपछि निस्कियो । आँखाभरि आँसु पार्दै साइँली साइँलालाई झपार्दै थिई, "मेरो फुटेको कर्म । तेरो सत्यानास होस् । कत्रा–कत्रा सपना देखाएर फकाएर ल्याइस् । एतिका लागि ल्याको रैछस् ।"
एस्तै एस्तै गाली गर्दै घर तल्तिरको खेतमा साइँली लडी । साइँलो आफ्नै टाउको समातेर आँगनको डिलमा बस्यो ।
गाउँभरिका मान्छे त्यतैतिर दगुरे । ठुल्ठुलो स्वरमा 'साइँलीले बिष खाई अरे' भन्ने हल्ला गुञ्जियो ।
लरबरिएको स्वरमा भिडको बिचमा साइँली कराइराखी, "सुनैसुनले पुरिदिन्छु, रानी बनाएर राख्छु भन्थिस्, ......."
२ छोरीकी आमा भएर पनि रुपले धपक्कै बलेकी साइँली । साइँलो उसको रुपलाई सुहाउने त पटक्कै थिएन ।
साइँली धेरैबेर टिक्दिन भन्ने पत्तो पाएर गाउँलेले एम्बुलेन्स बोलाएनन् । १५ मिनेटमा साइँली सेलाई । हिजो साइँलो हलो जोतेर १२ बजे भोकले रन्थनिँदै घर आएथ्यो । भात पाकेको थिएन । साइँली के–के फत्फताउँदै थिई । बेस्कन भकुरेछ ।
कर्मसँग हारेकी साइँलीको महत्वकांक्षाको पहाड साइँलाले चढ्न सकेन । आत्महत्यापछि समाजले साइँलीप्रति औपचारिक श्रद्धाञ्जली बाहेक कुनै सद्भाव देखाएन ।

(सत्य घटनामा आधारित)
बिर्तामोड झापा

No comments:

Post a Comment