म नेपाली

Sunday, July 29, 2018

बढुवा

विधा : लघुकथा

लेखक © : एनबी इलुंगा


हरि र भानु एउटै अफिसमा काम गर्छन् । सँगै खुल्ला प्रतिस्पर्धाबाट छनौट भएका । एउटै पद बरिष्ठ सहायकमा रहेर सँगै काम गरेको ७ बर्ष भइसकेको थियो । दुवै जनाले ६/६ ग्रेड पाइसकेका थिए । राम्रै तलब थियो । दुवै खुसी थिए । मिलनसार थिए । एकअर्कासँग एकदमै मिल्थे । सँगै अफिस आउने, काम गर्ने, खाजा खाना जाने, सरसल्लाह गर्ने र अफिसबाट निस्कने गर्थे । जेठको महिनामा कार्यालयले बढुवाका लागि आवेदन माग ग¥यो, सहायक अधिकृतमा । दुवैजनाले भिडे । परीक्षा भयो । दुवैले राम्रो गरे । राम्रै अपेक्षा थियो दुवैको ।
       असारको पहिलो साता नतिजा आयो । हरि सहायक अधिकृत भयो । भानु बरिष्ठ सहायक नै रह्यो । हरिको मुहारमा अधिकृत हुँदाको खुसी छल्किरहेको थियो । भानु निन्याउरो अनुहार लाएर बसेको थियो । हरिले सम्झायो भानुलाई । भानु अर्कोचोटी राम्रो तयारी गरेर प्रतिस्पर्धा गर्ने मनासय बनाएर हरिको खुसीको पार्टीमा सामेल भयो । साउन लाग्यो । हरि हाकिम भयो । भानु उसको सहायक । हिजोसम्म बराबरीमा काम गरेको साथी हाकिम भएपछि भानुलाई भित्रभित्रै खै के–के भइराखेको थियो । काम गर्न पनि मन लागिराखेको थिएन । हरिले काम अह्राउँदा पनि आफु हेपिँदैछु भन्ने भाव आउन थाल्यो । सरुवा भए बरु ढुक्क हुन्थ्यो । यस्तै सोच्दा सोच्दै साउन बित्यो ।
         मसान्तको दिन सबैको खातामा तलब चढ्यो । सबैले आ–आफ्नो विवरण चेक गरे । हरि आफ्नो तलब हेरेर सन्तुष्ट थियो । तर जब उसले भानुको तलब हेर्यो । छाँगाबाट खसेजस्तो भयो । उसको भन्दा उसको सहायक कर्मचारीको तलब पाँच हजार बढी आएको थियो । उसलाई पटक्कै चित्त बुझेन । अस्ति बढुवा हुँदा खस्केको भानुको मुहारमा मुस्कान थियो । बदलाको भावमा मुस्कुराइरहेको थिायो भानु । बढुवा भएर हाकिम भएको हरिको मुहार निलो भएर आयो । हरिले मानव संसाधन विभाग, लेखा विभाग सबैतिर फोन गर्यो । उत्तर एउटै आयो नियम त्यस्तै छ । तपाईलाई मात्र हैन । सबैलाई त्यस्तै हो । बढुवा भएपछि ग्रेड शुन्य गर्नुपर्छ । धन्यवाद ।।
पूर्वाञ्चल दैनिक बिर्तामोडमा प्रकाशित मिति २०७५ साउन १२ गते शनिबार